काँचै उमेरदेखी क्रान्तिकारी, निष्ठाका पर्यायः केशव नेपाल

न्युज अरनिको, काठमाडौ Thursday 26-Sep-2019 08:05 AM

राजनीतिसँगै साहित्य र साहित्यसँगै पत्रकारिता । विचारमा सधैं क्रान्तिकारीपना । पछिल्लो समय, राजनीतिमा निष्ठा र नैतिकताको खडेरी परेको बेला एकजना पात्र देखा पर्छन् । नेपाली कम्युनिष्ट आन्दोलनका टुटफुट र जुटमा सधैं अग्रगामी विचारका पक्षमा उभिएका, पद, प्रतिष्ठा र व्यक्तिगत हितभन्दा माथि संगठनका लागि होमिएका व्यक्तित्व । राजनीतिज्ञ केशव नेपाल, अर्थात् साहित्यकार केशव नेपाल, अर्थात् पत्रकार केशव नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकीकरणपछि भने उनी अहिले पेशागत विशेष जिल्ला कमिटिको इन्चार्ज बनेका छन् ।

दश कक्षा नपुग्दै राजनीतिमा सक्रिय

काँचै उमेरमा राजनीतिमा होमिए केशव नेपाल । पढाईमा अब्बल नेपाल सिन्धुपलाञ्चोकको बलेफी गाउँपालिका–४ विञ्जेलमा जन्मे । गाउँमा प्रारम्भिक शिक्षा सुरु गरेका उनले कक्षा १० पढ्दासम्म दश बढी विद्यालय परिवर्तन गरे उनले । भन्छन, ‘म सानैदेखि अलि फरक स्वभावको मान्छे थिएँ । गाउँमा रहेको विद्यालयमा व्यवस्थापन भद्रगोल हुन्थ्यो, शिक्षकहरु मन लाएर पढाउँदैनथे । त्यसकारण विद्यालयसँग असहमति राख्थे र विद्यालय परिवर्तन गर्थे ।’ उता विश्व राजनीतिमा चिनियाँ चर्चा चुलिँदो थियो । यता स्कूल फेर्ने क्रमसँगै उनी कम्युनिष्ट बन्न पुगे । उनको गाउँमा चीनले अरनिको राजमार्ग निर्माण गर्दै थियो । त्यसका लागि गाउँमै क्याम्पहरु खडा गरिएको थियो । क्याम्पमा बस्नेहरुले नेपाललगायतका साथीहरुलाई चिनियाँ फिल्म देखाउँथे । ‘ती फिल्म हेर्दा हेर्दा पनि म मा एक किसिमको क्रान्तिकारी र विद्रोही स्वभाव देखिन्थ्यो । त्यतिबेलादेखि नै क्रान्तिकारी व्यक्तिले मात्रै राजा फाल्न सक्छन भन्ने लाग्यो,’ विगत सम्झँदै उनले सुनाए । उनमा रहेको सक्रियता, इमान्दारिता र अनुशासनले गर्दा उनलाई रेशम चौलागाईंले चौथो महाधिवेसन पार्टीमा लाग्न प्रेरित गरे । क्रान्तिकारी र विद्रोही स्वभाव भएका नेपाललाई पार्टीमा लागेपछि झन् सजिलो भयो, नेतृत्व गर्ने अवसर पाए । चुनौतीलाई अवसरका रुपमा लिने नेपालले पार्टी नेतृत्वको मन जित्दै अन्य जिम्मेवारीको दाबेदारका रुपमा नेपाल उदाए । युवा जोस, जागरका कारण पनि पार्टी नेतृत्वको उनलाई विश्वास गर्न बाध्य थियो । उनीमा रहेको नेतृत्व गर्ने क्षमता र स्वभावले नै हो, उनलाई रेशम चौलागाईंले कक्षा ८ (शारदा मा।वि बाह्रविसे) मा पढ्दा–पढ्दै जिम्मेवारी दिए । ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ बाट रेशम सर र रेशमबाट उनी संगठित भएको उनले बताए । नेपाल २०३२ बाट नेकपामा सक्रिय रुपमा आवद्ध भए । उनीमा कम्युनिष्टप्रतिको लवाग र चासो बढ्दै गयो । सोबारेका विभिन्न किताव पढ्न थाले । ०४५ पछि प्रचण्डले मोटो मशाल र पछि एकताकेन्द्रको नेतृत्व नगरेको भए नेपालको इतिहास यहाँ पुग्ने थिएन । कक्षा १० पछि भने उनी राजधानी छिरे । उच्च शिक्षा पढ्ने धोको थियो । तर काठमाडौंमा उनी झनै होमिए राजनीतिमा । राजनीतिक यात्रालाई अगाडि बढाउने क्रममा २०३७ सालमा महेन्द्र रत्न क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को उपसभापति बन्न सफल भए । सो बेला उनी सिन्धुपलाञ्चोकको नेकपा (चौम)को डीसीएमको जिम्मेवारी पनि नेपाललाई दिएको थियो । २०३७ सालमा भएको जनमत संग्रहमा पञ्चायतका विरुद्ध र बहुदलीय व्यवस्थाको पक्षमा जनतालाई मत हाल्न आह्वान गर्दै हिडे । ताहाचलपछि उनी कीर्तिपुर पढ्न हिँडे । त्यहाँ पनि उनी चुनाव लडे । तर त्यो उनले जित्न सकेनन । पञ्चायतविरोधी आन्दोलन चर्किंदै थियो । यता उनी पनि जिम्मेवारी अनुसार, कहिले कता कहिले कता हिंडिरहन्थे । “ती दिन सम्झिंदा अहिले पनि जोश आउँछ ।” उनी थप्छन, “हामीभित्र एउटा बेग्लै मान्छे थियो जस्तो लाग्छ । २०३८ सालमा अखिल नेपाल युवा संघ बाग्मती क्षेत्रीय समन्वय समितिका मन्त्री भए । त्यतिखेर प्रचण्ड भने युवा संघको केन्द्रीय अध्यक्ष थिए ।

पार्टी राजनीतिमा होलटाइमर

तत्कालिन अवस्थामा चौथो महाधिवेशनमा फूटपछि प्रचण्डको भूमिकाको भने उनी उच्च प्रशंसा गर्छन् । उनको बुझाईमा मोहन वैद्यपछि प्रचण्डको स्थानमा सिपि गजुरेल या अन्य व्यक्ति महामन्त्री बनेको भए जनयुद्ध सुरु हुने थिएन र यति चाडैं राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना हुने थिएन । ‘प्रचण्डमा क्रान्ति शुरु गर्ने जबर्जस्त स्पिरिट थियो,’ उनी भन्छन, ‘अरु पनि आकांक्षी थिए महामन्त्रीका, तर ०४५ पछि प्रचण्डले मोटो मशाल र पछि एकताकेन्द्रको नेतृत्व नगरेको भए नेपालको इतिहास यहाँ पुग्ने थिएन ।’ यद्यपी उनी भने प्रचण्ड महामन्त्री भएको मोटो मशालमा समावेश भएनन् । मोहनबिक्रमलाई साथ दिँदै उनी पातलो मसालका पूर्णकालिन कार्यकर्ता बने । त्यसअघि मोहन वैद्य, मोहन बिक्रम प्रचण्डहरु एउटै पार्टीमा हुँदा मोहनबिक्रममाथि कार्वाही गरिएको संस्मरण उनले सुनाए । “२० दिन चल्यो सम्मेलन, १६ दिन त मोहनबिक्रममाथि नै बहस भयो । ४ दिन अन्य राजनीतिक विषयमा कुरा भए ।” उनले सुनाए । शान्ति प्रक्रियामा आएपछि नेपालकै समूहसँग माओवादीले पहिलो पटक एकता गरेको थियो । विभाजनपछि १० वर्षसम्म (२०४२–०५२)अखिल नेपाल युवक संघको अध्यक्ष भएका नेपाल पार्टीको पुर्नःगठनपछि युवक संघको अध्यक्ष भएर काम गरे । सो क्रममा पञ्चायतका विरुद्ध आन्दोलन गर्नु उनको दैनिकी थियो । सो क्रममा उनले विभिन्न पदको नेतृत्व गर्दै जिम्मेवारी निर्वाह गरे । २०४५ पछि भने उनी मोहनबिक्रम सिंहसँग जोडिए । मसालमा रहँदा समेत उनको सक्रियताको अहिले पनि संगठनमा चर्चा हुन्छ । ‘खाली बस्नै नसक्ने, केही न गर्नैपर्ने, लोभ लाभलभन्दा संगठनमा बढी जोड दिने व्यक्ति हुन केशव नेपाल’ उनलाई सम्झिने यसरी बताउँछन् । तर मोहनबिक्रम सिंहसँगै भएपनि माओवादी जनयुद्दलाई हेर्ने सवालमा भने उनको र एमबीको मत मिल्न सकेन । मोहनविक्रम सिंहलगायतले जनयुद्धपछि माओवादीसँग मिल्नु हुँदैन भन्ने मत राखे । यता नेपालहरु भने परिस्थिति फेरिएकोले अग्रगामी शक्तिबीच ध्रुवीकरणको पक्षमा थिए । यही क्रममा तत्कालिन नेकपा एकताकेन्द्र मसालसँग विद्रोह गर्दै नेकपा -२००६ को गठन भयो । नेपाल उक्त पार्टीको महासचिव बने । पछि शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीसँग उनको पार्टीको एकीकरण भयो। शान्ति प्रक्रियामा आएपछि नेपालकै समूहसँग माओवादीले पहिलो पटक एकता गरेको थियो । सुरुमा केन्द्रीय समितिमा रहेका नेपाललाई माओवादीले कार्यालय सचिव बनायो । त्यसपछि निरन्तर केन्द्रीय सदस्य बनेर काम गरेका नेपाल तत्कालीन एमाले र माओवादी पार्टीको एकता पछि बनेको नेकपाको पनि केन्द्रीय सदस्य छन् भने हाल उनी पेशागत विशेष जिल्ला पार्टी ईञ्चार्जको जिम्मेवारीमा छन् ।

साहित्यसँगै पत्रकारितामा

राजनीतिसँगै साहित्य र पत्रकारितामा समेत नेपालको छुट्टै पहिचान छ भने योगदान पनि उत्तिकै छ । पञ्चायतकालमा पञ्चले लेख्न बोल्नमा बन्देज लगाएका बेला नेपाललगायतले पत्रपत्रिकामार्फत पञ्चायतविरुद्ध जनमत निर्माणमा योग दिए । वि।सं।२०३७ सालदेखि नै पत्रकारितामा सक्रिय नेपालले त्यतिबेलाका चर्चित पत्रिका योजना, नव परिवेश, हाँक, मूलधार, युवा गर्जनलगायत कैयन पत्रपत्रिकामा संवाददातादेखि कार्यकारी सम्पादकसम्मको भूमिका निर्वाह गरे । ‘म राजनीतिज्ञ, साहित्यकार, पहिलेको पत्रकार पनि हुँ । तर, पछिल्लो समय अलि राजनीति हाबी हुँदा साहित्य ओझेलमा परेको छ । छोड्न चाही छोडेको छैन् ।’ चिनियाँ क्रान्तिका बेला सुनेका गीत, हेरेका उपन्यासका कारण नै नेपाल साहित्यमा लागेको बताउँछन् । वि।सं।२०२७ मा ‘हिमाल’नामक कविता लेखेर सुरु भएको उनको साहित्य २०७६ सालसम्म अनवरत रुपमा चलिरहेको छ । प्रगतिशिल लेखक संघका सचिव तथा साँस्कृतिक संघका महासचिव नेपालले २०४५ सालमा लेखेको ‘बेचिएकी चेली’उपन्यास ११औं संस्करण प्रकाशन भइसकेको छ । यसले नै उनको लेखनबारे प्रष्ट पार्दछ । थुप्रै कविता, नाटक, कथा, उपन्यास लेखेर पाठकमाझ परिचित नेपाल हाल ‘सहीदकी’ आमा नामक उपन्यास ल्याउने तयारीमा जुटिरहेका छन् । नेपालमा भएका पञ्चायत विरोधी होस् वा राजा विरोधी होस्, सबै आन्दोलनमा अग्रस्थानमा आउथ्यो, केशव नेपालको नाम । त्यही कारण उनले कैयौं पटक जेल–नेल सहनुपर्यो । पञ्चायतकालमा पञ्चायतहरूले सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा प्रकाशनरप्रसारण हुन नदिइरहेका बेला नेपालले लुकिछिपि प्रकाशन गरेका साप्ताहिक हुन या मासिक, पञ्चायतविरुद्ध जनमत तयार गर्न ठूलो भूमिका खेलेको थियो । सँगसँगै कथा, कविता, उपन्यासमार्फत आममानिसमा चेतनाको विकास तथा पञ्चायत र राजाविरुद्ध जनमत निर्माण गर्नमा पनि उनको भूमिका रह्यो । यसैकारण राजनीति, साहित्य र पत्रकारितामा परिचित, चर्चित र सबै क्षेत्रका मानिसले सम्झने नाम हो, केशव नेपाल । ५० वर्ष लामो राजनीतिक र साहित्यिक जीवनको अनूभव संगालेका नेपाल अझैं राजनीति र साहित्यमा क्रियाशिल छन् । त्यसै कारण नेपाल भन्छन्, ‘म राजनीतिज्ञ, साहित्यकार, पहिलेको पत्रकार पनि हुँ । तर, पछिल्लो समय अलि राजनीति हाबी हुँदा साहित्य ओझेलमा परेको छ । छोड्न चाही छोडेको छैन् ।’ निष्ठाको राजनीति जोगाउनु जरुरी पञ्चायती व्यवस्था, राजतन्त्रविरुद्ध आफैं लडेका नेपाल २०३५ सालदेखिको नेपाली राजनीतिलाई नियालिरहेका छन्, आफैं प्रत्यक्ष रुपमा संग्लन छन् । पञ्चायत र राजतन्त्र अन्त्य गर्ने कार्यमा नेतृत्व गर्ने अवसर पाएका कारण खुसी महसुस गर्ने नेपाल उद्देश्य पुरा नभएकोमा भने दुःख व्यक्त गर्छन् । हाल सरकार चलाइरहेको दल नेकपाका केन्द्रीय सदस्य तथा पेशागत विशेष जिल्ला पार्टी ईञ्चार्ज रहेका नेपाल आफ्नै पार्टी गरेका कामप्रति भने सन्तुष्ट देखिँदैनन् । “कसका लागि पार्टी र के का लागि पार्टी ?” भन्ने प्रश्न महत्वपूर्ण भएकोले अनुशासित र वैचारिक पार्टी तथा संगठन निर्माणले मात्रै समाजवादी यात्रा तय गर्न सक्ने उनले जिकिर गरे । यसअघिका सरकारले पनि पञ्चायत, राजतन्त्रविरुद्धको आन्दोलन र माओवादी जनयुद्धबाट पाठ सिक्दै काम गर्न नसकेको उनको ठम्याई छ । पहिले र अहिलेको राजनीतिबारे विश्लेषण गर्दे उनी भन्छन्, ‘राजनीतिमा आदर्श, निष्ठा कमजोर हुँदै गइरहेको छ ।’ उनी आफैं पार्टीको रणनीति र कार्यदिशाबारे भन्छन, ‘नेकपाले नयाँ समाजवादमा जाने लक्ष्य ठिक छ । तर, त्यसका लागि ठोस नीति आएको छैन । त्यसका लागि आधार पनि देखिएको छैन । पार्टीमा बहस, छलफल गरेर समाजवादको आधार खडा गर्न सकिन्छ ।’ नेपाली कम्युनिष्ट आन्दोलनमा जडसूत्रवादको नाममा बस्तुगत परिस्थितिको उपेक्षा गर्ने र सिर्जनात्मक प्रयोगको नाममा सैद्धान्तिक विचलनको खतरा हुने उनको बुझाई छ । माक्र्सवादलाई बस्तुगत परिस्थिति अनुसार उपयोग गर्दै समाजलाई धक्का दिनु नै सच्चा कम्युनिष्ट पार्टीको कर्तव्य भएको उनको बुझाई छ । “कसका लागि पार्टी र के का लागि पार्टी ?” भन्ने प्रश्न महत्वपूर्ण भएकोले अनुशासित र वैचारिक पार्टी तथा संगठन निर्माणले मात्रै समाजवादी यात्रा तय गर्न सक्ने उनले जिकिर गरे । ‘हामीसँग ठूलो बौद्धिक जमात छ । अब सैद्धान्तिक बैचारिक कुरालाई अगाडि लिनुपर्छ, पार्टीभित्र सर्वाहारावादी संस्कृतिको विकास गर्नु जरुरी बनेको छ । त्यसले मात्रै पार्टीलाई अगाडि पुर्याउँछ,’ पार्टी शिर्ष नेतृत्वलाई सुझाव दिँदै नेपालले कुराकानी टुङ्ग्याए ।(एभरेष्ट दैनिकका लागि दिनेश ठकुल्लाले गर्नुभएको कुराकानीमा आधारित सामाग्री हामीले साभार गरेका हौंः सम्पादक)