आलोपालोमै सरकारको नेतृत्वः प्रचण्ड

न्युज अरनिको, काठमाण्डौ । Wednesday 12-Jun-2019 12:15 PM

नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो नै हुने बताएका छन् । पार्टी कामका सिलसिलामा बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले भने, “सबै कुरा थाहा पाउनुभएकै छ । सहमतिअनुरूप हुन्छ । पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ?”

उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताए । “विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,” उनले भने । उनले लोकसेवाको कर्मचारी भर्ना प्रक्रियाबारे संसदीय समितिले एक खालको निर्णय गरेको बताउँदै प्रधानमन्त्री फर्किएपछि छलफल गरेर सकारात्मक ढंगले टुंग्याउने बताए ।

गुठी विधेयकका सन्दर्भमा भने आन्दोलनरत पक्षसँग वार्ता, छलफल गरी परिमार्जन गरिने उनले स्पष्ट पारे । 

भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला  देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो ।
उनले तीन नम्बर प्रदेशको स्थायी मुकाम र नामाकरणका बारेमा पार्टीमा छलफल भइराखेको बताउँदै विभिन्न विकल्प अघि सारिएको बताए ।