पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीता हुँदै

न्युज अरनिको, बलेफी । Friday 19-Jul-2019 03:00 PM

पाँचौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । शनिबार बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीता हुन लागेको हो ।   प्रतियोगीतामा विभिन्न १२ टिमको सहभागीता जनाउँदैछन् ।  जुगल बोर्डीङ चौतारा, तातोपानी तेक्वान्दो डोजाङ सहित बाह्रविसे, मानेश्वाँरा, किस्टोन, कर्थली, ग्रीनल्याण्ड, खाडीचौर, जलवीरे, कुविण्डे एवम् पिपलडाँडा डोजाङका खेलाडीहरु सहभागी हुनेछन् ।
प्रतियोगीतामा सहभागी हुन खेलाडीहरु खाडीचौरमा आइसकेका छन्े । उनीहरुको तौल परिक्षण गरी समुह विभाजन तथा रेफ्री तालीम र कोच बैठक गरी खेलाडीहरुको टाइ सिट समेत निर्माण गर्ने काम धमाधम भइरहेको जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले बताउनुभयो ।  बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले उद्घाटन गर्नुहुने प्रतियोगीतामा डेढ सय  जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।  प्रतियोगीतामा १७ वटा विभिन्न इभेन्टमा खेल सञ्चालन गरीनेछ । प्रतियोगीतामा छात्राहरुले विभिन्न आठ समुहमा प्रतिस्पर्धा गर्नेछन् भने छात्रले नौ समुहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीतामा २० केजी तौल समुहदेखि ५० केजी तौल समुहसम्मका विभिन्न इभेन्ट हुनेछन् । प्रतियोगीतामा प्रथम, दितीय र तृतीय हुने खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
खेल समापन समारोहमा  भुटानमा भएको तेक्वान्दो प्रतियोगीतामा पदक जित्न सफल जिल्लाका खेलाडीहरुलाई सम्मान समेत गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।