लिभरपुलको निरन्तर जितमा म्यानचेस्टर युनाइटेड तगारो

न्युज अरनिको, काठमाडौ Monday 21-Oct-2019 01:42 PM

हारनजिक पुगेको लिभरपुललाई आदम ललानासले जोगाएका छन्। लगातार जिततर्फ बढिरहेको लिभरपुललाई लयमा फर्किएको म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकिदिएको हो। आइतबार राति युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले अन्तिम पाँच मिनेट लिभरपुललाई रोक्न नसक्दा जितनिकाल्न असफल भयो। यो सँगै प्रिमियर लिगमा पछिल्ला १८ खेलमा निरन्तर निकालेको जितमा लिभरपुल बराबरीमा रोकिन पुग्यो । २०१७ को डिसेम्बरयता लिभरपुलको यो अर्को लामो अपराजित यात्रा हो। पछिल्लो पटक उसले मार्चमा एभर्टनसँग बराबरी खेलेको थियो। युनाइटेडलाई मार्कुस रासफोर्डले ३६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफ र दोस्रो हाफको अधिकांश समय खेलमा अग्रता बनाए पनि लिभरपुलले अन्तत ८५ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । उसका लागि आदमललानासले बराबरी गोल फर्काएका थिए। जारी सिजन लिभरपुल उपाधि होडमा सर्वाधिक अगाडि छ। लिभरपुलको बराबरीले साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई भने केही राहत मिलेको छ।  प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको ९ खेलमा २५ अंक भएको छ भने दोस्रो स्थानको सिटीको समान खेलबाट १९ अंक रहेको छ। म्यानचेस्टर युनाइटेड भने ९ खेलबाट १० अंक बनाएर १३ औं स्थानमा उक्लिएको छ। पहिलो हाफमा नै बराबरी गोल फर्काए पनि लिभरपुल भीएआरका कारण गोल पाउनबाट बन्चित भयो। उक्त गोल ह्यान्ड देखिएपछि लिभरपुल पहिलो हाफमै सम्भावित बराबरीबाट विमुख भएको थियो।थाहाखबरबाट