खाडीचौर बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

न्युज अरनिको, बलेफी Saturday 28-Dec-2019 04:50 PM

१२ पुष । बलेफी गाउँपालिका ७ स्थित खाडीचौर बचत तथा ऋण सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार खाडीचौर बजारमा सम्पन्न साधारणसभाले वार्षिक समिक्षा र आगामी बर्षका लागि विभिन्न योजनाहरु पारीत गर्दै  सुमन श्रेष्ठ नेतृत्वको अघिल्लो कार्यसमितिलाई नै पुनः अनुमोदन गरेको छ ।  
बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले सहकारीको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी केदार क्षेत्रीले समान उदेस्य बोकेका सहकारीहरु आपसमा मर्ज गर्नुपर्नेमा जोड दिनुभयो । खाडीचौर बचत तथा ऋण सहकारीले छोटो समयावधिमै आफुलाई अब्बल सहकारीका रुपमा उभ्याएको भन्दै क्षेत्रीले प्रशंशा समेत गर्नुभयो । ‘खाडीचौरका जागरुक यूवाहरुले स्थपना गरेको यो सहकारी छोटो समयमै अब्बल सहकारीका रुपमा स्थापित भएको छ’, क्षेत्रीले भन्नुभयो, ‘निर्धक्क भएर कारोबार गर्नुस् ।’ सहकारीकै माध्यमबाट समृद्ध मुलुक निर्माण गर्न सकिने भन्दै उहाँले अब्बल सहकारी संस्थाका लागि गाउँपालिकाले आवस्यक सहयोग गर्ने बताउनुभयो । गाउँपालिका कार्यालयमा ७२ वटा सहकारी संस्था दर्ता भएको तथ्यांक प्रस्तुत गर्दै उहाँले झोलामा सहकारी बोकेर हिँड्नेहरुलाई अब निषेध गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथी बलेफी ७ का वडाध्यक्ष कार्केल लामाले खाडीचौर बचत तथा ऋण सहकारीको प्रशंशा गर्दै नमुना सहकारीका रुपमा विकास गर्न सुझाउनुभयो । ‘यूवाहरु मिलेर स्थापना गरेको यो सहकारीलाई नमुना सहकारीका रुपमा विकास गर्नुस्, स्थानीय सरकार तपाइँहरुलाई साथ सहयोग गर्न तयार छ ।’
सहकारीहरु बचत र ऋण कारोबारमा मात्रै सिमित भइरहेका बेला आफुहरु सामाजिक सेवामा पनि लागिपरेको खाडीचौर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । सामाजिक क्षेत्रमा समर्पित हुँदै उत्पादनका क्षेत्रमा पनि सहकारीले लगानी बढाउँदै जाने अध्यक्ष श्रेष्ठले बताउनुभयो । साधारणसभाका अवसरमा विभिन्न विधामा उतकृष्ट सेयर सदस्यहरुलाई सम्मान र पुरस्कार समेत प्रदान गरिएको थियो । सहकारीमा आवद्ध ज्येष्ठ सदस्यहरुलाई जाडोपयोगी सिरक प्रदान गरिएको थियो । लक्की ड्र मार्फत सहकारीका सेयर सदस्य पदमनाथ पराजुलीले साधारणसभाबीच फ्रिज उपहार पाए ।