स्थायी राजधानी हेटौँडा कायम भएपछि असन्तुष्टि बढ्दो

न्युज अरनिको, बलेफी Sunday 12-Jan-2020 06:26 PM

२७ पुष । ३ नम्बर प्रदेशसभाबाट अस्थायी राजधानी हेटौडालाई नै स्थायी राजधानी कायम गर्ने प्रस्ताव दुई तिहाईले पारीत भएपछि नेपाली काँग्रेस र सत्तारुढ नेकपाका नेता कार्यकर्ता नै असन्तुष्ट देखिएका छन् ।  आफुले मत दिएर पठाएका सांसदहरुले अपायक स्थानमा स्थायी राजधानी कायम गरेको भन्दै सिन्धुपाल्चोकमा असन्तुष्टिका आवाज ब्यापक रुपमा उठिरहेको छ ।
प्रदेशको एउटा कुनामा राजधानी तोकीएको भन्दै सिन्धुवासीले सामाजिक सञ्जामार्फत खरो कटाक्ष गरिरहेका छन् । मतदाताका भावनालाई कुल्चिएर प्रदेश सांसदहरुले पार्टीको चाहना अनुसार हेटौडाका पक्षमा मत जाहेर गरेपछि सांसदहरुको खरो आलोचना भइरहेका छन् । ‘टिकट नपाएसम्म लमतन्न, टिकट पाएपछि धनुसम्म अनि ठाउँमा पुगेपछि....’, बाह्रविसे नगरपालिका घुम्थाङका रेशम प्रधान सामाजिक सञ्जालमा लेख्छन्, ‘जनतालाई कतिञ्जेल ढाँट्ने ?’
नेकपा र नेकाको संसदीय दलको सर्वसम्मत निर्णएपछि प्रदेशसभाले हेटौडालाई राजधानी तोकेपछि नेपाली काँग्रेसका स्थानीय नेता भक्तध्वज बोहोराले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रदेशको नाम बागमति र राजधानी हेटौँडा, अब अर्को चुनावमा के भनेर भोट माग्न आउलान ?’  केहि नेताका स्वार्थमा अपायक ठाउामा राजधानी बनाइएपछि दलका स्थानीय नेता तथा कार्यकर्ताले हेटौँडामै राजधानी बनाउनुपर्ने कारण समेत खोज्न थालेका छन् । प्रदेश सांसदहरुले पार्टीप्रति इमानदारीता देखाइरहँदा आम मतदाता र जनताप्रति भने धोकाधडी गरेको आरोप लाग्न थालेको छ । ‘हेटौँडा नै प्रदेशको राजधानी बनाउनुपर्ने कारण के हो हामीलाई बुझाइदिनुप¥यो अध्यक्ष महोदय ?’, सुनकोसी ६ का मीमबहादुर योञ्जन लेख्छन् ।
मेलम्ची स्थित तेर्से माध्यमिक बिद्यालयका प्रअ कृष्ण ढुंगानाले पनि फेसबुकमार्फत प्रदेश राजधानीको विषयमा कटाक्ष गरेका छन् । ‘मुलुकलाई चिरा पारेपछि समृद्धि पलाउँछ भन्नेहरुले पुष २७ को अवसर पारेर केन्द्रको परिभाषा नै उल्ट्याइदिएछन परदेशतिर्’, ढुंगाना लेख्छन्, ‘उनीहरुको जय होस् ।’  सांसदहरुलाई नेतासँग मात्र डर भएको र जनतासँग केहि डर नै नभएको भन्दै बाह्रविसे ९ राम्चेका राजकुमार सुवेदीले कटाक्ष गरेका छन् । जनताका भावना भन्दा नेताका चाहनाले नै जितेको उनी बताउँछन् । ‘जनतासँग त कसलाई के को डर ?’ सुबेदीले कटाक्ष गर्दै लेखेका छन्, ‘डर त नेतो मात्रै पो रछ !’