आँखाको निशुल्क शल्यक्रियापछि डेढ सयले संसार देखे

न्युज अरनिको, बलेफी Tuesday 14-Jan-2020 10:37 AM

२९ पुष, खाडीचौर । दश बर्षपछि आँखा देख्दा सुनकोसी गाउँपालिका ६ थुम्पाखरका नरबहादुर भण्डारी सोमबार सिन्धु सदाबहार अस्पताल परिसरमा खुसीले गदगद् थिए । ६५ बर्षको उमेरमा दृष्टि फर्कीएपछि उनको मुहारमा चमक छायो । किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र सिन्धु सदाबहार अस्पतालले उनका लागि दृष्टि मात्र फर्काएन, खुसी नै फर्काइदियो । ‘दश बर्षदेखि दुवै आँखा देख्न छाडेँ, अन्धकारमै बाँच्नुपरेको थियो’, आँखाको शल्यक्रिया पछि भण्डारीले भने, ‘बुढेशकालमा संसार देख्न पाएँ ।’ 
बर्षौदेखि मोतिबिन्दुले दृष्टी गुमाएकी त्रिपुरासुन्दरी गाउँपालिका तौथलीकी ८४ बर्षिया माईली तामाङका लागि निशुल्क आँखा शिविर बरदान सावित भइदियो । तौथलीमा आँखा जाँचपछि उनका दुवै आँखामा मोतिबिन्दु भएको पत्ता लाग्यो, त्यसपछि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उनका दुवै आँखाको शल्यक्रिया भयो । ‘गाउँमै आएर जाँच गर्नुभो, अस्पतालमा ल्याएर उपचार गरिदिनुभयो’, माईलीले भनिन्, ‘यो उमेरमा आएर संसार देख्न पाएँ ।’
किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राविधिक सहयोगमा सिन्धु सदाबहार अस्पतालले बलेफी गाउँपालिकाको जलबिरे, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली, सुनकोसी गाउँपालिकाको थुम्पाखर र खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा आयोजना गरेको निशुल्क आँखा शिविरमा एक हजार हाराहारीले स्वास्थ्य सेवा लिए । उनीहरुमध्ये मोतिबिन्दु र आँखा सम्बन्धि अन्य समस्या भएका १ सय ५० जनालाई अस्पतालमै ल्याएर शल्यक्रिया समेत गरियो । ‘एक हजार जनाको आँखा जाँच भयो, उनीहरुलाई निशुल्क रुपमा चश्मा र औषधी प्रदान गरियो’, सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले भने, ‘डेढ सय जनालाई अस्पतालमै ल्याएर आँखाको शल्यक्रिया ग¥यौँ ।’ किर्तिपुर आँखा अस्पतालले चिकित्शक, औषधी लगायतका प्राविधिक सहयोग गरेको र सिन्धु सदाबहार अस्पतालले आँखाका बिरामीलाई यातायात, बास र खानाको व्यवस्था मिलाइदिएको उनले बताए । 
बिगत एक महिना देखि सिन्धु सदाबहार अस्पतालले स्वास्थ्यमा सहज पहुँच नभएका ग्रामीण भेगमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । जिल्लाका विभिन्न ठाउँमा संचालित शिविरमा हालसम्म दुई हजार भन्दा बढि सर्वसाधारणले सेवा पाएका छन् । शिविर लिएर गाउँ गाउँमा जाँदा स्थानीयका स्वास्थ्य समस्या बिकराल देखिएको सिन्धु सदाबहार अस्पतालका डाक्टर राजकुमार दंगालले सुनाए ।  ‘ग्रामीण भेगका मान्छे रोग पालेरै बसेका छन्, स्वास्थ्य सेवाको सहज पहुँच छैन’, दंगालले भने, ‘हामी निशुल्क स्वास्थ्य शिविर लिएर गाउँ गाउँमा पुगिरहेका छौं ।’ निशुल्क स्वास्थ्य शिविर ग्रामीण भेगका स्थानीयका लागि अवसर सावित बनिरहेको उनी बताउँछन् ।