मृगौलापीडित निरजलाई आर्थिक सहायता

न्युज अरनिको, बलेफी Friday 24-Jan-2020 05:28 PM

१० माघ । बलेफी गाउँपालिका ७ चिम्लिङका १७ बर्षिय मृगौलापीडित निरज नेपालीलाई उपचारार्थ आर्थिक सहयाता प्रदान गरिएको छ । शुक्रबार बलेफी ८ स्थित ग्रीनलाइन सहकारी संस्थामार्फत खाडीचौरका स्थानीयले संकलन गरेको झण्डै ४० हजार रकम पीडितका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।
बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामाले ३८ हजार ४ सय २० रुपियाँ मृगौलापीडित निरजका बुबा अम्मरबहादुर नेपालीलाई हस्तान्तरण गर्नुभयो । बालशिक्षा माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत निरजको शरिरका कम्मरमुनिको भाग  चल्दैन । उनी प्यारालाइसिसका समेत बिरामी हुन् । केहि दिन अघि उपचारका लागि अस्पताल लगिएको र स्वास्थ्य जाँचपछि मृगौला फेल भएको रिपोर्ट आएको उनका बाबु अम्मरबहादुरले बताउनुभयो । ‘कम्मरमुनिको कुनै भाग चल्दैनथियो, उपचारका लागि अस्पताल लैजाँदा डाक्टरले  मृगौला नै फेल  भएको छ भने’, अम्मरबहादुरले सुनाउनुभयो । 
मृगौलापीडित निरजको उपचारका लागि आर्थिक सहायता प्रदान गर्दै वडाध्यक्ष कार्केल लामाले गम्भीर प्रकृतिका रोगका बिरामीलाई बलेफी गाउँपालिकाले आर्थिक सहायता प्रदान गर्दै आएको बताउनुभयो । स्थानीयको अग्रसरतामा सहकारी मार्फत मृगौलापीडित बालकलाई सहयोग रकम उपलब्ध गराएकोप्रति वडाध्यक्ष लामाले प्रशंसा गर्नुभयो । ‘सबैले आ आफ्नो ठाउँबाट सहयोग जुटाएर मृगौलापीडित निरजलाई नयाँ जीवन दिनुपर्ने वहाँले बताउनुभयो ।