भ्रमण बर्षलाई लक्षित गर्दै खुला दौड, सानुकान्छा बने बलेफीका उत्कृष्ट धावक

न्युज अरनिको, बलेफी Saturday 01-Feb-2020 12:18 PM

१८ माघ ।भ्रमण बर्षका अवसरमा बलेफीमा गाउँपालिकास्तरीय खुला दौड(म्याराथुन) प्रतियोगिता भएको छ । बलेफी गाउँपालिकाको सहयोग तथा चिम्लिङ यूवा समाजको आयोजनामा  भ्रमण बर्षलाई लक्षित गर्दै  दौड प्रतियोगिता गरिएको हो । 
शनिबार बिहान सम्पन्न प्रथम बलेफी गाउँपालिकास्तरीय दौड प्रतियोगितामा बलेफी ३ का सानुकान्छा तामाङ प्रथम भएका छन् । प्रतियोगितामा प्रथम भएसँगै उनी बलेफी गाउँपालिकाका उत्कृष्ट धावक बनेका छन् ।  
बलेफी बजारदेखि बलेफी ८ को नयाँपुलसम्मको ९ किलोमीटर दुरीमा ३६ बर्षिय सानुकान्छा तामाङ प्रथम भए भने बलेफी ७ का ४९ बर्षिय जीतबहादुर पराजुली(रेशम) द्धितिय भएका छन् । दौडमा बलेफी ६ का तेजबहादुर तामाङ तृतिय भएका छन् ।  दौडमा बलेफी गाउँपालिकाभित्रका ८ वटै वडाका गरि ३६ जना सहभागी भएका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेहरुलाई  बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले क्रमशः १० हजार, ५ हजार र ३ हजार प्रदान गर्नुृभयो । प्रतियोगितामा ३५ बर्ष माथिकाले मात्र सहभागिता जनाएका थिए । दौडमा सहभागीमध्ये सवैभन्दा ज्येष्ठ सहभागी बलेफी ७ का ४६ बर्षिय चित्रखर पराजुलीलाई पनि पुरस्कृत गरियो ।
भ्रमण बर्षलाई सफल बनाउनका लागि यस्ताखालका कार्यक्रमले सघाउ गर्ने बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । भ्रमण बर्षलाई लक्षित गर्दै पहिलोपटक गाउँपालिकास्तरीय दौड प्रतियोगिता गरिएको हो ।