जिससको छड्केः दश बढि कार्यालयका कर्मचारी फन्दामा

न्यूज अरनिको, बलेफी । Saturday 21-Mar-2020 09:41 AM

बिदुर आचार्य, बन्देउ ।कर्मचारीहरुमा शुक्रबारका दिन हाजिर गर्दै टाप कस्ने प्रवृति बढेपछि सिन्धुपाल्चोकमा जिल्ला समन्वय समिति र चौतारा साँगाचोकगढी नगरपालिकाले छड्के  जाँच गरेको छ । शुक्रबार कार्यालयमा हाजिर गरि कार्यालय समयमै काठमाडौं जाँदै गरेका विभिन्न दश सरकारी कायर्नालयका कर्मचारी छड्केमा परेका छन् । 
 सरकारी कर्मचारी कार्यालय पुग्नासाथ हाजिर गरेर फर्कने प्रवृत्ति वढेकोले जिल्ला समन्वय समिति र चौतारा  साँगाचोक गढी नगरपालिकाले कार्यालय समयमा नै अनुगमन गरेको हो ।  शुक्रवार कार्यालयमा हाजिर गरि राजधानी  जाने कर्मचारिको सङ्ख्या धेरै भएकोले सिन्धु–काभ्रे सीमा क्षेत्र वन्देउमा सरकारी नम्वर प्लेटका सवारी साधनमा निगरानी गरिएको हो । 
शुक्रवार विहान ११ वजे देखि २ वजे सम्ममा  गरिएको छड्के निगरानीमा दश भन्दा वढी सरकारी नम्वर प्लेटका सवारीमा कर्मचारी भेटिएको जिल्ला समन्वय समितिका प्रमुखको सचिवालयले जनाएको छ । ‘स्वास्थ्य कार्यालय, खाद्य,पोषण सुरक्षा, आलुवारी विकास केन्द्र, खानेपानी डिभिजन कार्यालय, मालपोत कार्यालय लगायतका कर्मचारी र सवारी कार्यालय समयमानै राजधानी हिडेको पाईयो’, सचिवालयका प्रमुख कृष्ण ढकालले भने, ‘कतिपय कर्मचारी कार्यालयको काममा निस्केको पाईयो भने अधिकांश कर्मचारीहरु व्यक्तिगत तवरले हिडेको पाईयो ।’ निगरानीको क्रममा दक्षिणकाली नगरपालिकाको उपप्रमुख सरकारी नम्वर प्लेटको गाडीमा पारिवारिक घुमघाममा आएको पाईएको निगरानीमा रहेका सदस्यले जनाए । कार्यालय समयमा कामको चापको वेवास्ता गर्दै कर्मचारी हिड्ने प्रवृत्ति वढेको आम गुनासोलाई सम्वोधन गर्दैै अनुगमनमा खटिएको  चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर अमानसिङ तामाङले वताए । 
‘आईतवार ढिला कार्यालय आउने र शुक्रवार छिटै कार्यालय छोड्ने जिल्लाका कर्मचारीको लत नै वसेकोले यसलाई परिवर्तन गर्न निगरानी गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले वताए । ‘विकास र समृद्धिमा कर्मचारीको महत्वपुर्ण भूमिका रहन्छ,’ प्रमुख तामाङले भने, ‘संवेदनशील ढंगले काम गर्न कर्मचारीलाई सजग वनाईएको हो ।’ उनले नतिजामुखी काम गर्न समेत कर्मचारीलाई सुझाएका छन् ।