संभावित जोखिमबाट बँच्न जुगल नीतिः पाहुना लाग्न नजाऔं, नबोलाऔं

न्यूज अरनिको, बलेफी । Saturday 21-Mar-2020 11:21 AM

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

८ चैत । विश्वभर कोरोना संक्रमण फैलिरहेका बेला स्थानीय सरकार कोरोना सजगता र सचेतनामा जुटेका छन् । स्थानीय तहमा बिपद व्यवस्थापन समितिको बैठक बस्दै गाउँपालिका र नगरपालिकाले बिभिन्न योजना र संभावित जोखिमबाट बँच्ने पूर्वतयारी थालेका छन् ।
जिल्लाको बिकट भुगोलमा अवस्थित जुगल गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बैठकले समुहमा हुने  धार्मीक, साँस्कृतिक कार्यक्रममा रोक लगाएको छ । समुहमा हुने त्यस्ता कुनैपनि कार्यक्रम  नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
वडास्तरीय विपद व्यवस्थापन समिति मार्फत गाउँबस्तिमा सचेतनाका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउँने निर्णय पनि भएको छ । बिदेशबाट फर्कीएका ब्यक्तिहरुको विवरण तयार गरि गाउँपालिकामा बुझाउँन समेत वडाहरुलाई पत्राचार  गरिएको जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताउँनुभयो ।
कोरोनाको संभावित जोखिमबाट बँच्नका लागि जुगललेपाहुना लाग्न नजान र पाहुना नबोलाउँन गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।

संभावित जोखिमबाट बँच्न पाहुना लाग्न नजाऔं, नबोलाऔंको नीति अघि सारीएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउँनुभयो ।

गाउँपालिकाभित्र कोरोनाका बिरामी फेला परेकामा निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको छ । आवस्यक परे गाउँपालिका अध्यक्षले  प्रयोग गर्दै आएको गाडीलाई नै प्रयोग गरिने निर्णय समेत भएको छ । रिक्त स्वास्थ्यकर्मीको पदपुर्तिका लागि छोटो म्याद राखी बिज्ञापन गर्ने, सिजनल औषधी तथा पीपीई गन र उपचारसामाग्रीको खरीद प्रक्रिया पनि अघि बढाउँने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । साबुन पानीले हात धोएर धुँदै शुक्रबार जुगल गाउँपालिकामा स्थानीय बिपद व्यवस्थापन समितिको बबैठक बसेको थियो ।