खाद्य पसलमा भीड, खाद्यान्नको जोहो गर्दै जनसाधारण

न्यूज अरनिको, बलेफी । Sunday 22-Mar-2020 05:54 PM

९ चैत, बलेफी । पछिल्लो एक सातादेखि बजार केन्द्रका खाद्यान्न पसलमा सर्वसाधारणको भिड बढ्न थालेको छ । सरकारले अत्यावस्यक दैनिक उपभोगका सामाग्री र खाद्यान्न अभाव नहुने बताइँरहँदा आम साधारण भने खाद्य सामाग्रीको अभाव हुनसक्ने डरलेखाद्यान्न तथा आवस्यक सामाग्री जुगाड गर्न बजार झरिरहेका छन् । सर्वसाधारणले तिन महिनालाई पुग्नेगरि खाद्य सामाग्री र अन्य अत्यावस्यक सामाग्री खरीद गर्न थालेका छन् । पछिल्लो तिन दिनमा खाद्य सामाग्रीको ब्यापार तिन गूणाले बृद्धि भएको स्थानीय ब्यापारीहरु बताउँछन् । जिल्लाको बाह्रविसे, खाडीचौर, जलविरे, चौतारा, मेलम्ची लगायतका बजार केन्द्रमा किराना पसलमा ग्राहकको ठूलै भिड देख्न सकिन्छ । खाद्य सामाग्रीकोब्यापार तिन गूणले बढेको छ, एक प्याकेट तेल लानेले बाक्सा लान्छन, नुन त दश प्याकेट सम्म लगिरहेका छन, बलेफी गाउँपालिका स्थित खाडीचौर बजारका एक किराना पसल व्यवसायीले सुनाए । स्थानीय किराना पसल व्यावसायीहरुका अनुसार दाल, चामल, नुन, तेल लगायतका सामाग्रको ब्यापार आकासिएको छ । सर्वसाधारणले घरायसी उपभोगका लागि तिन महिनासम्मका लागि पुग्नेगरि चामलका बोरा खरीद गरिरहेका छन् । तेल प्याकेटमा होईन, बाक्सा नै खरीद गरिरहेका छन् । ग्राहकले स्टकका लागि खाद्य सामाग्री लगेपछि पसलहरु नै खाली हुँदै गएका छन् । बजारका ठूला पसलहरमै नुन, तेलको अभाव हुन थालेको छ । दाल, चामल बाँकी छ, नुन र तेल त सकिइसक्यो, मेलम्चीस्थित एक किराना पसल व्यवसायीले सुनाए । खाद्य सामाग्रीसँगै मेडिकलहरुमा पनि भीडभाड उत्तिकै छ । मेडिकल संचालकहरका अनुसार रुघाखोकी र ज्वरोका बिरामीहरु बढेका छन् । किराना पसल र मेडिकलहरुमा भीड लागीरहँदा अनुगमन भनेहुन सकिरहेको छैन । मूल्यमा मनोमानी भइरहँदा प्रशासन र स्थानीय सरकारले अनुगमनमा अग्रसरता देखाएको छैन । ८० रुपियाँको उपचारसामाग्री २ सय ५० रुपियाँमा बिक्रि भइरहँदा अनुगमन गर्ने निकाय चुपचाप छ । खाद्य सामाग्रीमा पसल अनुसारका मूल्य हुँदा पनि अनुगमनमा प्रशासन र स्थानीय सरकारका ध्यान पुग्न सकेको छैन ।