‘मलाई हटाउन भारतिय चलखेल बढ्यो’

न्यूज अरनिको, बलेफी । Monday 29-Jun-2020 07:57 AM

१५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत संशोधन गरेर त्यसलाई लिपिबद्ध गर्ने काम गरेपछि आफूलाई हटाउने खेल सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘तर, म तपार्ईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।’

ओलीले पहिलो पटक सार्वजनिक रूपमै आफूविरुद्ध भारतले चलखेल सुरु गरेको आरोप लगाएका हुन्। उनले नेपालकै नेताहरूका गतिविधि, भारतीय दूतावासको सक्रियता र होटलहरूमा भएका गतिविधिले आफूलाई हटाउने खेलको निर्देश गरेको उल्लेख गरे। उनले प्रधानमन्त्री पदमा बसिरहन मन नभएको तर अहिले आफू हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न नसक्ने बताए। आफ्नो पार्टी, संसदीय दल अहिलेको परिस्थिति नबुझी ‘अञ्जान खेलमा बहकाउमा लागेर नदौडने उनको भनाइ थियो।

‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन। तर, यतिबेला म हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन’, उनले भने, ‘मैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन, देशका लागि र हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन। यति नबुझ्ने अञ्जान खेलमा खेल्नेवाला पनि छैन।’ उनले मदन भण्डारीको वैचारिक, राजनीतिक तथा सांस्कृतिक पक्षबारे चर्चा गर्दै झन्डै एक घण्टा १० मिनेट सम्बोधन गरे। राष्ट्रियताका विषयमा केन्द्रित रहेर अडान लिँदा आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण प्रयास भए पनि त्यो सम्भव नहुने उनको भनाइ थियो। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।