चीनतर्फ सीमा अतिक्रमणको फेक प्रतिवेदन कहाँ बन्यो, खोजी भइरहेको छः परराष्ट्रमन्त्री ज्ञवाली 

न्यूज अरनिको, बलेफी । Monday 29-Jun-2020 02:18 PM

१५ असार ।  परराष्ट्र मन्त्रीप्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताउनुभएको छ ।  चीनले नेपाली भुमी अतिक्रमण गरेको फेक प्रतिवेदन बनाउने कारखाना खोजी भइरहेको भन्दै मन्त्री ज्ञवालीले  नेपाल चीन सीमामा कुनै समस्या नभएको पनि बताउनुभयो ।

हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको कृषि मन्त्रालयले १० असारमै खण्डन गरेको थियो ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गर्नुभएको छ ।
मन्त्री ज्ञवालीका अनुसार  दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै ज्ञवालीले भन्नुभयो, ‘६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजे । त्यहाँ जबरजस्ती भएको होइन।’

ज्ञवालीका अनुसार  वि सं २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सीमा चिह्न) बनेको छ । निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन ।

नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी छ । नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी छ ।  ‘यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या छैन ।’, मन्त्री ज्ञवालीले भन्नुभयो ।

तर चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार कसरी आए ? फेक प्रतिवेदन कहाँ तयार भयो ? भनेर सरकारले खोजी गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

 ‘त्यो सो कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो भनेर हामीले खोजी गरिरहेका छौं’, उहाँले भन्नुभयो, – ‘त्यसमा संलग्नहरूलाई गम्भीरतापूर्वक कानुनी दायरामा ल्याउने छौं ।’